वीरगंज । वीरगंज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले नारायणी अस्पतालमा उपचारका क्रममा एक नागरिकको मृत्यु भएको घटनाप्रति जनताको पक्षमा आवाज उठाउनु जनप्रतिनिधिको संवैधानिक तथा नैतिक दायित्व भएको बताएका छन् ।
फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले मृतकका परिवारले निष्पक्ष छानबिन र न्याय पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिंदै जनताको पक्षमा आवाज उठाउने जनप्रतिनिधिलाई पक्राउ गर्नु उचित नभएको बताए ।
उनले वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई नागरिकको पक्षमा आवाज उठाएकै कारण महानगरपालिकाको कार्यकक्षबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन।
जनप्रतिनिधिले आफ्ना नागरिकको न्यायका लागि बोल्नुपर्छ, चुप लागेर बस्नुपर्ने होइन, घटनाको समाधान संवाद र सहमतिमार्फत खोजिनुपर्छ । नेतृत्वले समयमै परिस्थिति नियन्त्रणमा लिएर संवादको वातावरण बनाउन नसक्नु दुःखद भएको टिप्पणी गरेका छन।
के नागरिकको न्यायको माग उठाउनु नै पक्राउको आधार हो? पर्सा प्रहरीको यस्तो व्यवहार कुन कानुनी आधारमा भएको हो? यसवारे स्पष्ट जवाफ आवश्यक छ, उनले फेसबुकमा लेखेका छन् ।
नागरिकको मृत्युजस्तो संवेदनशील घटनापछि आक्रोश र विवाद उत्पन्न हुनु स्वाभाविक भए पनि राज्यका निकायले संयमता अपनाएर जिम्मेवार ढंगले परिस्थिति व्यवस्थापन गर्नुपर्ने धारणा राख्दै नागरिकको मृत्युबाट भएको क्षति कुनै पनि माध्यमबाट पूर्ति हुन नसक्ने भएकाले सबै पक्षले संवेदनशीलता र जिम्मेवारीका साथ व्यवहार गर्नुपर्ने उनको भनाइ छ।
यद्यपि सिंहले चिकित्सकमाथि भएको कुटपिट र दुव्र्यवहारलाई कुनै पनि हालतमा उचित ठहर गर्न नसकिने स्पष्ट पारेका छन। “यदि चिकित्सकबाट लापरवाही भएको हो भने कानुनी प्रक्रियाअनुसार निष्पक्ष अनुसन्धान र आवश्यक कारबाही हुनुपर्छ, तर हातपात र दुव्र्यवहार कुनै पनि समस्याको समाधान हुन सक्दैन,” उनले उल्लेख गरेका छन।






