पर्सा , साउन १४ —
विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि देखिएको विवादास्पद व्यवहारका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको छ।
फिफाले फाइनल खेलपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा आचारसंहिता सम्बन्धी विशेष अभियोजक नियुक्त गरेको जनाएको छ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी रंगशालामा भएको फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र प्रशिक्षक समूहका सदस्य स्पेनका खेलाडीसँग विवादमा मुछिएका थिए।
फिफाले आचारसंहिताको धारा १४ अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाडी नहुएल मोलिना, लिआन्ड्रो पारेडेस तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि अनुसन्धान अघि बढाउने जनाएको छ।
फिफाको अनुशासन संहिताअनुसार खेलभावनाविपरीत आचरण प्रमाणित भए कम्तीमा एक खेलको निलम्बन र कुटपिटको आरोप पुष्टि भए कम्तीमा तीन खेलको प्रतिबन्ध लाग्न सक्ने व्यवस्था छ।






