सुनसरी घटनाका भड्काउ सामग्री हटाउन प्रेस काउन्सिलको निर्देशन

1200x150_1200x150-01.jpg (1)

पर्सा , साउन १४ —

प्रेस काउन्सिल नेपालले सुनसरीलगायतका जिल्लामा भएका घटनासम्बन्धी धर्म तथा सम्प्रदायबीचको सामाजिक सद्भावमा असर पार्ने र हिंसालाई प्रोत्साहन गर्ने सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यममाथि अनुगमन र कारबाही प्रक्रिया तीव्र बनाएको जनाएको छ।

काउन्सिलले सार्वजनिक गरेको प्रगतिविवरणअनुसार ११ सञ्चारमाध्यममा प्रकाशित १४ सामग्रीमध्ये १० सञ्चारमाध्यमले काउन्सिलको निर्देशन पालना गर्दै सम्बन्धित सामग्री हटाएका छन्। निर्देशन पालना नगर्ने एक सञ्चारमाध्यममाथि भने कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

त्यस्तै, दर्ता नभएका दुई सामाजिक सञ्जालमा प्रकाशित सात सामग्री हटाउन नेपाल प्रहरीको साइबर ब्युरोसँग आवश्यक पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

साउन १३ गते निर्देशन दिइएका बाँकी सञ्चारमाध्यममध्ये पाँच सञ्चारमाध्यम र एक दर्ता नभएको सामाजिक सञ्जालले निर्देशन पालना गरी सामग्री हटाएको काउन्सिलले जनाएको छ। तर एचटिपी खबर, अनलाइन पत्रिका र नेपालतन्त्र ले हालसम्म निर्देशन पूर्ण रूपमा पालना नगरेकाले पुनः सचेत गराइएको उल्लेख गरिएको छ।

प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने, हिंसा भड्काउने वा भ्रामक सूचना फैलाउने सामग्री प्रकाशन–प्रसारण नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः