रौतहट/ प्रहरीले आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको स्वीकारोक्ति आएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–३ बडेर्वा निवासी ७८ वर्षीया तेतरी खातुन शुक्रबार साँझ घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका १८ वर्षीय नाति साहिद शेखमाथि शंका उत्पन्न भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा साहिदले आफ्नै हजुरआमाको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।
प्रहरीले घटनाको कारण र त्यससँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका साहिद शेखमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।







