ठाकुररामसहित ११ केन्द्रमा एमबीएस परीक्षा रोकियो

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज सुरक्षा तथा व्यवस्थापकीय परिस्थितिलाई दृष्टिगत गर्दै पूर्वनिर्धारित एमबीएस (MBS) तहको परीक्षा ११ वटा परीक्षा केन्द्रमा अनिश्चितकालका लागि स्थगित गरेको छ।

त्रिविका रजिस्ट्रार महानन्द चालिसेका अनुसार मधेश प्रदेशमा पछिल्लो समय विकसित परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि ती परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो।

स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलङ्गवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस (सिरहा), जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), महेन्द्र विन्देश्वरी क्याम्पस (राजविराज), नेशनल पिपुल कलेज (कञ्चनपुर, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) तथा ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन्।

त्रिभुवन विश्वविद्यालयले यी ११ केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।

त्रिवि व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईद्वारा जारी सूचनामा स्थगित गरिएका परीक्षा केन्द्रहरूको नयाँ परीक्षा तालिका सुरक्षा अवस्था सामान्य भएसँगै यथाशीघ्र सार्वजनिक गरिने उल्लेख गरिएको छ।

त्रिविले परीक्षार्थीहरूलाई विश्वविद्यालयबाट जारी हुने आगामी सूचना नियमित रूपमा हेर्न तथा नयाँ परीक्षा तालिकासम्बन्धी जानकारीका लागि आधिकारिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेको छ।

सम्बन्धित पोस्टहरुः