एजेन्सी , साउन १६ —
बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएलगत्तै कानुनअनुसार पक्राउ गरिने संकेत दिएको छ।
कानुनमन्त्री एम असदुज्जमाँले हसिना बंगलादेश प्रवेश गर्नेबित्तिकै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउँदै अदालतमा आत्मसमर्पण गर्नुअघि नै नियन्त्रणमा लिन सकिने बताएका छन्।
हाल भारतमा रहेकी हसिनाले डिसेम्बरसम्म स्वदेश फर्कने इच्छा व्यक्त गरेकी छन्। तर अन्तरिम सरकारले उनको राहदानी रद्द गरिसकेको छ र जुनसुकै माध्यमबाट देश प्रवेश गरे पनि कानुनी कारबाही हुने स्पष्ट पारेको छ।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाइएको भए पनि उक्त न्यायिक प्रक्रियामाथि अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले निष्पक्षताबारे प्रश्न उठाएका छन्। साथै, बंगलादेश सरकारले भारतसँग उनको सुपुर्दगीका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ।







