पर्सा , साउन १७ — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु अहिले मुलुकको प्रमुख चुनौती भएको बताएका छन्।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहने भन्दै सबै मित्र राष्ट्रसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने बताए।
उनले पछिल्लो समय मुलुकमा बाह्य प्रभावका कारण आपसी असमझदारी बढाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने धारणा राखे। साथै, शहीदहरूको त्यागबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन व्यवस्थाको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।
सहसंयोजक नेपालले गरिबी, बेरोजगारी, सहकारी तथा मिटरब्याज पीडित र सुकुम्बासीका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउँदै देशभक्त तथा वामपन्थी शक्तिहरूले जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताए।






