वीरगंज , साउन १९ —
जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुर सम्बन्धी घटनामा आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण जारी गर्दै अनुसन्धान सम्पन्न नहुँदासम्म अपुष्ट, भ्रामक वा एकपक्षीय सामग्री सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्।
प्रहरीका अनुसार साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलकी एक बालिकासम्बन्धी किटानी जाहेरी दर्ता भएपछि निखिलसिंह राजपुतलाई पक्राउ गरी बालबालिकाविरुद्धको कसुरमा कानुनबमोजिम अनुसन्धान भइरहेको छ।
प्रहरीले अनुसन्धान निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अघि बढिरहेको उल्लेख गर्दै अनुमानका आधारमा प्रकाशित समाचारले अनुसन्धानमा असर पुग्न सक्ने जनाएको छ। अनुसन्धान सम्पन्न भएपछि कानुनअनुसार सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा उपलब्ध गराइने प्रहरीको भनाइ छ।






