काठमाडौं, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हाल ग्याँसको चरम अभाव भएकोप्रति सरकारलगायत कर्मचारीतन्त्रको आलोचना गरेका छन् ।
आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मङ्गगलवार सिंहदरवारमा बसेको बैठकमा जनसरोकारका विषयहरूलाई सरकारले सम्बोधन नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद पन्तले इन्धनको समस्या समाधान गर्न नसक्नेहरु पदमा बसिरहन योग्य नरहेको बताए ।
उनले जनताले सधैं यस्तै समस्याहरू भोगिरहने हो र संसदमा बोलेका कुराहरूको सुनुवाइ हुँदैन भने हामी जनप्रतिनिधिहरू यो पदमा बसिराख्न योग्य नहुने चेतावनी दिए । इन्धन आपूर्ति असहज भएर जनताहरुले निकै सास्ती भोगिरहेकोप्रति सरोकारवालाहरुले समाधान नगरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भने, “जनतालाई सधैं झुलाइराख्ने, दुःख दिइराख्ने यो प्रवृत्ति राम्रो भएन, अहिलेको सरकारसँग जनताले ठूलो आशा, आकांक्षा राखेको छ । जिम्मेवार सब निकायहरु एक भएर जनताको समस्या समाधान गर्नुपर्छ ।”
उनले चाहे मन्त्री होस्, कर्मचारी होस् अथवा जनसरोकारवाला निकाय नै किन नहोस्, सधैं जनताले यही समस्या भोगिरहने हो भने तपाई हामी यो पदमा बसिरहन योग्य ठहरिदैनौं भन्दै कर्मचारीतन्त्रले इन्धन समस्याको समाधान गर्न चासो देखाउनुपर्ने बताए । यो समस्या भयो, त्यो समस्या भयो भनेर हात टकटक्याएर हिंड्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
साथै उनले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि नेपालमा पनि सोही अनुपातमा इन्धनको मूल्य नघटेकोमा प्रश्न गरे ।







