वीरगंज, २२ साउन — गत आर्थिक वर्षमा वीरगंज नाका हुँदै भित्रिने मुख्य १० वटै वस्तुहरूको आयातमा उत्साहजनक वृद्धि भएको छ। यस नाकाबाट सबैभन्दा बढी इन्धन तथा पेट्रोलियम पदार्थको आयात भएको छ।
नेपाल आयल निगममार्पmत यस नाकाबाट सर्वाधिक अर्थात रू २ खर्ब ३८ अर्ब ५६ करोड बराबरको इन्धन आयात गरिएको छ। इन्धनपश्चात रू ८३ अर्ब ५६ करोडको फलाम तथा फलामजन्य सामग्री, रू ७० अर्ब ९३ करोडको मेसिनरी तथा पार्टपुर्जा र रू ६८ अर्ब ३२ करोडको भटमासको कच्चा तेल आयात भएको छ। त्यसैगरी, यस अवधिमा रू ४७ अर्ब ५८ करोड बराबरको विद्युतीय उपकरण तथा पार्टपुर्जा र रू ३९ अर्ब १७ करोड बराबरको यातायातका साधन तथा पार्टपुर्जा भित्रिएको तथ्याङ्क छ।
उद्योग, कच्चा पदार्थ, मेसिनरी तथा निर्माण सामग्रीको आयातमा देखिएको यो निरन्तर वृद्धिले मुलुकको समग्र उद्योग र निर्माण क्षेत्र क्रमशः चलायमान हुँदै गएको स्पष्ट संकेत गरेको छ।







