पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ४ भवानीपुर फिल्डमा जग्गाको विवादले हिंसात्मक रुप लिएको छ।
गत असार २१ गते मधेश प्रदेशका वन मन्त्री शंकर चौधरी, पुर्व मन्त्री जय प्रकाश महतो थारु र सोही गाउँपालिकाका उपमेयर उषा देवी थारुनीको उपस्थितिमा बृक्षारोपण गरिएको ठाउँ नजिकैको समसान घाट जाने बाटोको विषयमा विवाद उत्पन्न भएको थियो।
स्थानीयहरुका अनुसार ऐलानी जग्गा नापी नक्सा गरी नयाँ बाटो निकाल्दा पुरानो बाटो मिचिएको भन्ने आरोप लागेको थियो।
सोही विवादका कारण आज असार २ गते, मंगलबार बिहान करिब ९ बजे जिल्ला पर्सा जिराभवानी गाउँपालिका बस्ने प्रकाश महतो सहितको टोली र जगरनाथपुर गाउँपालिका ३ बडगो टोलका स्थानीयहरु बीच एक आपसमा बादबिबाद र झै-झगडा भएको थियो।
झडपमा परी निम्न ४ जना घाइते भएका छन्।
पहिलो, जगरनाथपुर गाउँपालिका ४ बडगो खेखरिया टोल बस्ने सुरेश महराकी श्रीमती वर्ष ५० की अमिता महरा। उनको छातीमा चोट लागेको छ।
दोस्रो, सोही स्थानका वर्ष ३० का कर्ण हजरा। उनको काँधमा चोट लागेको छ।
तेस्रो, वर्ष ४५ की कान्ती देवी। उनको दुबै हातमा चोट लागेको छ।
र चौथो, वर्ष २५ का रितेश राम। उनको बायाँ पाखुरा र बायाँ गालामा चोट लागेको छ।
सबैको अवस्था सामान्य रहेको र थप उपचारको लागि उनीहरुलाई नारायणी अस्पताल वीरगन्ज पठाइएको छ।
घटना लगत्तै स्थिति नियन्त्रणमा लिन अस्थायी प्रहरी पोष्ट सुपौलीबाट प्रहरी सहायक निरीक्षक राजदेव प्रसाद यादवको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २० जनाको टोली खटिएको थियो।
प्रहरी खटिएपछि अन्य मानिसहरु तितरबितर भई घर तर्फ लागेका थिए।
हाल घटनास्थलमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






