किसान दाजुभाइ ३८ दिनपछि भारतीय जेलबाट धरौटीमा रिहा

1200x150_1200x150-01.jpg (1)

सर्लाही , साउन २३ —

मल लिन भारत गएका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि धरौटीमा रिहा भएर घर फर्किएका छन्। भारतको सीतामढीस्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनीहरू बुधबार नेपाल फर्किएका हुन्।

बलरा नगरपालिका–५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहलाई गत असार १७ गते भारतीय सीमा क्षेत्रमा पक्राउ गरिएको थियो। दुई बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा राखेर नेपाल फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र कृषि विभागको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

मल तस्करीको आरोपमा पक्राउ परेका सिंह दाजुभाइलाई सीतामढीको डुमरास्थित कारागारमा पठाइएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले चासो देखाउँदै नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वय अघि बढाउनुभएको थियो।

अदालतको आदेशपछि दुवै जना जनही १० हजार भारतीय रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। उनीहरूलाई लिन परिवारका सदस्यहरू भारत पुगेका थिए।

धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया भने जारी रहनेछ। सिंह दाजुभाइले आगामी दिनमा अदालतमा तोकिएको तारिखमा उपस्थित हुनुपर्नेछ।

सम्बन्धित पोस्टहरुः