रुग्ण राष्ट्रिय उद्योगमा सुधारका संकेत देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , साउन २३ —

प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानहरू सुधारको बाटोमा अघि बढ्न थालेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सरकारले निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका हुन्।

प्रधानमन्त्री शाहले वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको जनाएका छन्। जीएमपी मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताएका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको पनि उनले जनाएका छन्।

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको प्रधानमन्त्री शाहले बताएका छन्। तान (लुम) मर्मतपछि नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन सुरु भएको र परीक्षणपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने उनले जनाएका छन्।

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको पनि प्रधानमन्त्री शाहले जनाएका छन्।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी भएको उनले बताएका छन्। उक्त अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको उनले जनाएका छन्।

त्यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी) का किसानको बक्यौता भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको प्रधानमन्त्री शाहले बताएका छन्। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयासपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनले जनाएका छन्।

डीडीसीको औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको तथा कर्मचारीलाई विगतदेखि दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको उनले बताएका छन्। खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको पनि उनले जनाएका छन्।

सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको प्रधानमन्त्री शाहले बताएका छन्। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको उनले जनाएका छन्।

चालु आर्थिक वर्षमा १५० प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने लक्ष्य राखिएको तथा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने लक्ष्य रहेको पनि उनले बताएका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता, देशप्रतिको समर्पण, कानुन कार्यान्वयन र टिमवर्क कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगलाई पनि पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन्।

सम्बन्धित पोस्टहरुः