वीरगंज, साउन २४ —
पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलबाट ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। प्रहरीले घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
शनिबार राति करिब ११ः५५ बजे सशस्त्र प्रहरीको बीओपी अमरपट्टी, बीओपी प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरिरहेको थियो।
इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीमा फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ। सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको हो।
झोला जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलबाट बरामद तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्ति, बरामद पदार्थ र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ।






