पर्सा , साउन २४ —
पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरी वीरगञ्जतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी बढनिहारको टोलीले पर्सागढी नगरपालिका–३ बढनियारस्थित सडकखण्डबाट प्र.२–०३–००१ त ६१३७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
पर्सागढी नगरपालिका अन्तर्गत करजनिया क्षेत्रको राष्ट्रिय वनबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरी तस्करी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धान प्रक्रिया बाँकी रहेकाले पक्राउ परेका चालकको नाम प्रहरीले हाल गोप्य राखेको छ। बरामद ट्र्याक्टर र नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि नगरपालिकाको राजस्व शाखामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।






