राधेश्याम पटेल,वीरगंज, २४ साउन÷
नेपालमा देखिएको एलपी ग्यासको अभाव तत्काल समाधान गर्न पश्चिम बंगालको हल्दिया (दुर्गापुर) बाट पारादीप सारिएको ग्यास बुलेटको बुकिङ पुनः बिहारको बरौनीबाट सुरु गर्नुपर्ने उद्योगीहरूले बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय महासचिव तथा सगरमाथा एलपी ग्यासका सञ्चालक अमित अग्रवालका अनुसार दुर्गापुरस्थित एलपी ग्यास प्लान्टमा गत जुन ३० मा भएको आगलागी तथा विस्फोटपछि त्यहाँबाट हुने ग्यास बुलेटको लोडिङ लगभग ठप्प भएको छ । त्यसपछि दुर्गापुरको बुकिङ ओडिशास्थित पारादीपमा सारिएपछि नेपालमा ग्यास आपूर्तिमा थप समस्या देखिएको उनको भनाइ छ । त्यहाँबाट लोडिङ हुन पुनः शुरु हुन झण्डै एक साताभन्दा बढि समय लाग्ने भारतीय पक्षले जनाएको छ । हाल त्यहाँ मर्मतको काम चलिरहेको छ ।
अग्रवालका अनुसार पारादीपबाट एउटा ग्यास बुलेट नेपालका उद्योगसम्म आइपुग्न करिब सात दिन लाग्ने गरेको छ । तर, बरौनीबाट ग्यास बुलेट लोड गरेर ल्याउन सके करिब तीन दिनमै नेपाली उद्योगसम्म पुग्न सक्छ । ढुवानीको समय घटेमा ग्यासको आपूर्ति तथा वितरण प्रणाली सहज हुने उनले बताए ।
“दुर्गापुरको बुकिङ पारादीपमा सारिएपछि ढुवानीमा धेरै समय लागिरहेको छ । बरौनीबाट लोडिङको व्यवस्था मिलाउन सके ग्यास अभावको समस्या एक साताभित्रै धेरै हदसम्म समाधान गर्न सकिन्छ,” अग्रवालले भने। उनले नेपाल सरकारले यस विषयमा भारत सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने बताए । नेपाल आयल निगमले उद्योग मन्त्रालयमार्फत र उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आवश्यक समन्वय गरी दुर्गापुरबाट पारादीप सारिएको बुकिङ पुनः बरौनीबाट सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । “भारत सरकारले भारतीय आयल कर्पोरेसनलाई आवश्यक निर्देशन दिएर बरौनीबाट ग्यास बुलेट लोडिङको व्यवस्था मिलाइदिए नेपालमा एलपी ग्यासको आपूर्ति सहज हुन्छ,” उनले भने ।
मागअनुसार ग्यास आपूर्ति हुन सकेन
उद्योगीहरूका अनुसार गत जुन ३० मा दुर्गापुरमा भएको विस्फोटपछि नेपाल आउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको हो। नेपाललाई मासिक करिब ५० हजार मेट्रिक टन एलपी ग्यास आवश्यक पर्ने भए पनि गत जुन महिनामा करिब ४७ हजार १ सय मेट्रिक टन मात्र ग्यास आपूर्ति भएको थियो । नेपाल एलपी ग्यास उद्योग संघको तथ्यांकअनुसार गत जुन महिनामा भारतका विभिन्न चारवटा डिपोबाट करिब ४९ हजार ९ सय ३० मेट्रिक टन ग्यासको बुकिङ भएको थियो। तर, करिब ४७ हजार मेट्रिक टन मात्रै लोडिङ भएर नेपाल आएको थियो । तथ्यांकअनुसार बरौनीबाट ११ हजार ४३० मेट्रिक टन आपूर्ति हुनुपर्नेमा ९ हजार ८ सय ५० मेट्रिक टन मात्रै आएको थियो । त्यस्तै, हल्दिया (दुर्गापुर) बाट ११ हजार ५ सय मेट्रिक टन आपूर्ति हुनुपर्नेमा जम्मा ८ सय मेट्रिक टन मात्र लोडिङ भएको थियो ।
पारादीपबाट १५ हजार ५ सय मेट्रिक टन लोडिङ हुनुपर्नेमा २३ हजार ६ सय मेट्रिक टन लोडिङ भएको थियो । त्यस्तै, उत्तर प्रदेशस्थित मथुरा डिपोबाट ११ हजार ५ सय मेट्रिक टन लोडिङ हुनुपर्नेमा १२ हजार ७ सय मेट्रिक टन ग्यास बुलेट लोडिङ भएर नेपाल आएको उद्योगीहरूले बताएका छन् ।
पारादीपबाट ढुवानी गर्दा दूरी र समय दुवै बढ्यो
उद्योगीहरूका अनुसार हल्दिया (दुर्गापुर) बाट हुने ग्यास लोडिङ पारादीपमा सारिएपछि ढुवानी दूरी र समय दुवै बढेको छ । वीरगंजबाट बिहारको बरौनीको दूरी करिब ३ सय किलोमिटर रहेको छ भने हल्दिया (दुर्गापुर) डिपो करिब ६ सय ३६ किलोमिटर टाढा छ। त्यसैगरी, ओडिशाको पारादीप वीरगंजबाट करिब १ हजार ६० किलोमिटर टाढा पर्छ । उत्तरप्रदेशको मथुरा डिपोबाट वीरगन्जको दूरी करिब ९ सय ४२ किलोमिटर रहेको छ । हल्दिया (दुर्गापुर) बाट हुने लोडिङ पारादीपमा सारिँदा ग्यास बुलेट नेपाल आइपुग्न थप करिब डेढ दिन समय लाग्ने गरेको उद्योगीहरूको भनाइ छ। ढुवानीमा हुने यही ढिलाइका कारण ग्यासको उत्पादन, आपूर्ति र वितरण प्रणालीमा समेत असर परेको उनीहरूको दाबी छ ।
पूर्वी र मध्य नेपालका उद्योग बढी प्रभावित
नेपालका पूर्वी तथा मध्य क्षेत्रका एलपी ग्यास उद्योगहरूले बरौनी, हल्दिया (दुर्गापुर) र पारादीपबाट ग्यास बुलेट आयात गर्दै आएका छन्। वीरगन्ज, विराटनगर र काँकडभिट्टा नाकाबाट यी क्षेत्रमा ग्यास बुलेट भित्रिने गरेको छ । पश्चिम नेपालका उद्योगहरूले भने भारतको उत्तर प्रदेशस्थित भारतीय आयल कर्पोरेसनका डिपोबाट ग्यास आयात गर्दै आएका छन्। भैरहवा, नेपालगन्ज र धनगढी नाकाबाट पश्चिम नेपालमा ग्यास बुलेट भित्रिने गरेको उद्योगीहरूले बताएका छन् । नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । कोशी, नेपाल, एचपी, रोयल, मनोज, सुपर, बारा लियो र जगदम्बालगायतका ब्रान्डका करिब ३५ लाख १४.२ किलोग्राम क्षमताका सिलिन्डर बजारमा खपत हुने उद्योगीहरूको भनाइ छ ।
आधा सिलिन्डर वितरणको निर्णयपछि पुनः पूरा सिलिन्डर
यसअघि मध्यपूर्वमा देखिएको युद्धका कारण नेपालमा समेत एलपी ग्यासको अभाव हुनसक्ने भन्दै नेपाल आयल निगमको सञ्चालक समितिले गत फागुन २८ गते ७.१ किलोग्राम अर्थात् आधा सिलिन्डर मात्र ग्यास वितरण गर्ने निर्णय गरेको थियो । युद्धको अवस्था सामान्य बन्दै गएपछि निगमले गत असार ३० गते उक्त निर्णय पुनरावलोकन गर्दै साउन १ गतेदेखि पुनः पूरा १४.२ किलोग्रामको सिलिन्डर वितरण गर्ने निर्णय गरेको थियो । तर, त्यसको केही दिनमै देशका विभिन्न जिल्लामा ग्यास सिलिन्डरको अभाव देखिन थालेको व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूका अनुसार आपूर्ति प्रणालीमा आएको समस्यासँगै उपभोक्ताहरूले अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्ने प्रवृत्ति बढाउँदा पनि बजारमा आंशिक अभाव देखिएको हो ।
वैकल्पिक ऊर्जाको प्रयोग गर्न व्यवसायीको आग्रह
एलपी ग्यासको आपूर्ति सहज नहुँदासम्म उपभोक्ताहरूले विद्युतीय इन्डक्सन चुल्हो लगायतका वैकल्पिक उपाय प्रयोग गर्न व्यवसायीहरूले आग्रह गरेका छन् । साथै, ग्यास अभावसम्बन्धी अपुष्ट तथा भ्रामक सूचना सामाजिक सञ्जालमार्फत फैलाउँदा बजारमा थप त्रास सिर्जना हुने भन्दै त्यस्ता सूचना नफैलाउन व्यवसायीहरूले उपभोक्तालाई अपिल गरेका छन् । उद्योगीहरूले सरकार, नेपाल आयल निगम र भारतीय पक्षबीच तत्काल समन्वय गरी दुर्गापुरको बुकिङ बरौनीबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन सके नेपालमा देखिएको एलपी ग्यासको आपूर्ति समस्या छिट्टै समाधान गर्न सकिने बताएका छन् ।






