पर्सा , साउन २६ –
सांसद हरि पन्तले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकार मातहतका कर्मचारीलाई विशेष अभिमुखीकरण, तालिम र प्रशिक्षण दिएर मात्रै जिम्मेवारीमा पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीयसँग भेटघाट तथा छलफल गर्दा जनताले तत्काल समाधान चाहेका विभिन्न समस्या र गुनासो आफूलाई सुनाएको बताए ।
उनले अहिले जनताको मुख्य चासो तत्काल सहज रूपमा मलखाद उपलब्ध गराउने तथा जिल्ला प्रशासन, प्रहरी, नापी, मालपोत र यातायात कार्यालयबाट बिना लेनदेन र सिफारिस सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु रहेको बताए ।
नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी तथा इन्धनका लागि लामो समय लाइन बस्नुपर्ने अवस्थाको अन्त्य होस् भन्ने जनताको अपेक्षा रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद पन्तले सरकारले जनताको अपेक्षा र भरोसाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै सरकारअन्तर्गतका सचिव, सहसचिव, उपसचिव, अधिकृत तथा जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र कार्यालय प्रमुखलाई छुट्टै संसदीय समितिमार्फत अभिमुखीकरण तथा प्रशिक्षण दिएर जिम्मेवारीमा पठाउने व्यवस्था गर्न आग्रह गरे ।
पुरानो प्रशासनिक संरचना तत्काल परिवर्तन गर्न सम्भव नभए पनि नयाँ सरकारको भावना र जनताको जनादेशअनुसार काम गर्ने गरी कर्मचारीलाई जिम्मेवार र प्रशिक्षित बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले विगत लामो समयदेखि जरा गाडेर बसेका भ्रष्टाचार, अनियमितता तथा बेथिति छोटो समयमै अन्त्य गर्न नसकिने भए पनि जनताले सरकारको कामबाट क्रमशः परिवर्तनको अनुभूति गर्नुपर्ने बताए।






