भारतको सहयोगमा ८ वटा सामुदायिक विकास परियोजना सञ्चालन हुने

1200x150_1200x150-01.jpg (1)

काठमाडौँ, श्रावण २६: भारत सरकारको अनुदान सहयोगमा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन हुने भएका छन्। यससम्बन्धी समझदारी पत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालय र परियोजना कार्यान्वयन गर्ने निकायहरूबीच हस्ताक्षर भएको छ।

कुल अनुमानित लागत नेरु. ८०.३ करोड रहेको यी परियोजनाहरू स्थानीय निकाय तथा संस्थाहरूमार्फत कार्यान्वयन गरिनेछन्।

परियोजनाहरू समेटिएका क्षेत्र तथा स्थानहरू:
१. कोशी प्रदेश:

सुनसरी जिल्लाको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्रको निर्माण।

मोरङ जिल्लाको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण।

सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको निर्माण।
२. बागमती प्रदेश:

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवनको निर्माण।
३. कर्णाली प्रदेश:

दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शैयाको अस्पताल निर्माण।

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्रको निर्माण।
४. गण्डकी प्रदेश:

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर (शीतगृह) को निर्माण।

भारत–नेपाल सहकार्यको पृष्ठभूमि:
सन् २००३ यता भारत सरकारले नेपालमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। यसमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा पूर्वाधार निर्माणका क्षेत्रमा ५१२ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् भने बाँकी परियोजनाहरू कार्यान्वयनका विभिन्न चरणमा छन्।

छिमेकी राष्ट्रबीचको सुमधुर सम्बन्ध र बहुक्षेत्रीय सहकार्यअन्तर्गत सञ्चालन हुने यी परियोजनाहरूले नेपाल सरकारको प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकास र समृद्धिको लक्ष्य हासिल गर्न थप टेवा पुर्याउने विश्वास लिइएको छ।

सम्बन्धित पोस्टहरुः