बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारी

1200x150_1200x150-01.jpg (1)

रूपन्देही, २६ साउन । हेटौँडा कपडा उद्योग सञ्चालनको प्रयाससँगै दुई दशकदेखि बन्द बुटवल धागो कारखाना पुनः चलाउन सरकारले आन्तरिक तयारी सुरु गरेपछि यस क्षेत्रका उद्योगी-व्यवसायी उत्साही भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (DDA) प्रक्रिया अगाडि बढाएपछि उद्योग पुनः ब्युँझिने आशा पलाएको हो। अर्थ मन्त्रालयका प्रतिनिधि कृष्णकुमार भट्टराईको नेतृत्वमा दुई इन्जिनियर, दुई चार्टर्ड एकाउन्टेन्ट र एक कानुनविज्ञ गरी पाँच सदस्यीय प्राविधिक टोलीले गत असार ५ गतेदेखि कारखानाको स्थलगत अध्ययन गरिसकेको छ। टोलीले भवन, मेसिनरी, उत्पादन पूर्वाधार, बजार सम्भावना र आवश्यक लगानीको विस्तृत मूल्याङ्कन गरी प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

धागो कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकृत डोलराज शर्माका अनुसार टोलीको प्रतिवेदन प्राप्त भएपछि उद्योग सञ्चालनको मोडालिटी तय गरिनेछ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि यसलाई अघि बढाउने उल्लेख गरिसकेको छ।

समस्या र सम्भावना
कारखानामा भौतिक संरचना र करोडौँ मूल्यका मेसिनहरू यथावत् रहे पनि केही मर्मत र नयाँ प्रविधि जडान गर्नुपर्ने आवश्यकता छ। विद्युत् आपूर्ति नहुँदा र संरक्षण अभावमा कतिपय उपकरण नष्ट हुने क्रममा छन्। भूमिगत विद्युत् संरचनालगायत केही महत्त्वपूर्ण सामग्री चोरीसमेत भएका छन्।

२०३९ चैत ३ गते निर्माण सुरु भई २०४८ वैशाखदेखि उत्पादन थालेको यस कारखाना व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप र कर्मचारी विवादका कारण २०६४ फागुनदेखि बन्द छ। २०६६ सालमा ४०२ जना कर्मचारीलाई सेवा सुविधासहित बिदा दिएपछि उद्योग पूर्ण रूपमा निष्क्रिय बनेको थियो। हाल यहाँ तीन जना मात्र कर्मचारी कार्यरत छन्।

बजार र अर्थतन्त्रमा प्रभाव
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग पुनः सञ्चालन भए रोजगारी सिर्जना हुनुका साथै कपास खेती, कपडा उद्योग र समग्र पश्चिम नेपालको अर्थतन्त्रलाई नयाँ गति मिल्ने बताउनुभयो। सरकारी बहुमत लगानी रहेको यस उद्योगमा चार हजार ६३० जना सेयरधनी छन् भने उद्योग पुनः चलाउन करिब एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

कारखाना सञ्चालनका लागि निरन्तर दबाब दिँदै आएका युवा व्यवसायी प्रकाश भुसाल र पूर्व सञ्चालक समिति सदस्य जीवन वझाका अनुसार यहाँका मेसिनहरू पूर्ण रूपमा बिग्रिएका छैनन्। केही मर्मत र नयाँ मेसिन थपेर उद्योग सहजै चलाउन सकिने उहाँहरूको दाबी छ। नेपालगन्जको कपास उद्योग, बुटवलको धागो कारखाना र हेटौँडाको कपडा उद्योगलाई जोडेर नेपालका सेना, प्रहरीका पोसाक उत्पादन गर्ने र भारतीय बजारमा समेत धागो निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको उद्योगी नवराज श्रेष्ठले बताउनुभयो।

१४४ रोपनी क्षेत्रफलमा फैलिएको यो कारखाना तत्कालीन राजा वीरेन्द्र शाहको अवधारणामा मुलुकलाई कपडामा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको थियो।

सम्बन्धित पोस्टहरुः