लाल बकैया नदीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

1200x150_1200x150-01.jpg (1)

रौतहट , साउन २७ –

रौतहटको देवाही गोनाही नगरपालिकास्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। एक बालिका अझै बेपत्ता छिन्।

देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोल नजिकै मंगलबार दिउँसो करिब २ बजे नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमका अनुसार खोजीका क्रममा बुधबार बिहान घटनास्थलबाट करिब डेढ किलोमिटर दक्षिण जिङडिया पुल नजिक दुई जनाको शव फेला परेको हो।

मृत्यु हुनेमा देवाही गोनाही–२ लक्षमिनियाका शेख कमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह र सोही स्थानका शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

सोही घटनामा बेपत्ता भएकी शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुनको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ९ जना तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ। बेपत्ता बालिकाको खोजीमा स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त टोली नदी तथा तटीय क्षेत्रमा खटिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः