पर्सा , साउन २७
मधेस प्रदेशमा बढ्दो विद्युत् माग र कमजोर वितरण पूर्वाधारको समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन तथा सबस्टेसन निर्माणलाई तीव्रता दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मधेसको विद्युत् माग सम्बोधन गर्न विभिन्न प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणको महत्वपूर्ण चरणमा पुगेको बताउनुभएको छ। उहाँका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन करिब २४ किलोमिटर डबल सर्किट निर्माण भई नो–लोड अवस्थामा चार्ज भइसकेको छ।
बालगंगा सबस्टेसनको निर्माण तथा उपकरण जडानको कामसमेत तीव्र रूपमा भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। आयोजनालाई दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो। आयोजना सञ्चालनमा आएपछि धनुषाका मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइनलगायत क्षेत्रमा विद्युत् आपूर्ति थप मजबुत हुने अपेक्षा गरिएको छ।
यसैगरी सिरहा र सप्तरीमा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न लहान–सुखीपुर तथा रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। रौतहटमा चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइन निर्माणमार्फत मध्य तथा दक्षिणी क्षेत्रमा विद्युत् प्रसारण क्षमता विस्तार गर्ने काम भइरहेको छ।
बारा–पर्साको औद्योगिक करिडोरमा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न हेटौँडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनालाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ। परवानीपुरदेखि पोखरियासम्म २१ किलोमिटरभन्दा लामो चार सर्किट प्रसारण लाइन निर्माण तथा पोखरियामा नयाँ १३२/३३/११ केभी सबस्टेसन निर्माण गरिने जनाइएको छ।
मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न नियमित अनुगमन, समन्वय र सहजीकरण गरिरहेको जनाएको छ। यी आयोजना सम्पन्न भएपछि मधेस प्रदेशको विद्युत् आपूर्ति थप भरपर्दो हुनुका साथै औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधारसमेत बलियो हुने अपेक्षा गरिएको छ।





