प्रदेश प्रहरी गठनको प्रक्रिया अगाडि बढ्दै

1200x150_1200x150-01.jpg (1)

धनुषा, २७ साउन । गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको सक्रिय पहलमा मधेश प्रदेशमा प्रदेश प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनी र प्रशासनिक प्रक्रिया अगाडि बढाइएको छ।
प्रदेश प्रहरी गठन, समायोजन, जिम्मेवारी निर्धारण तथा कार्यसम्पादनलाई व्यवस्थित बनाउन आवश्यक ऐन, नियमावली र विधेयक निर्माणको काम तीव्र रूपमा अघि बढाइएको हो।
मधेश प्रदेश सरकारले यसअघि नै प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लागू गरिसकेको छ। उक्त ऐनको दफा १०१ ले दिएको अधिकार प्रयोग गर्दै प्रदेश सरकारले प्रदेश प्रहरी नियमावली, २०७७ समेत निर्माण गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिसकेको जनाएको छ।
गृह, सञ्चार तथा कानून मन्त्री महतोको संयोजकत्वमा गठित कानून मस्यौदा तथा परिमार्जन समितिले प्रदेश प्रहरी नियमावलीका नियम १ देखि १४८ सम्मका विषयमा छलफल गरी सर्वसम्मत निर्णय गरेको बताइएको छ। प्रदेश प्रहरीसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव तथा परिमार्जनसमेत गरेको जनाइएको छ।
यसैगरी नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरिवेक्षण तथा समन्वयसम्बन्धी विधेयक तथा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धी विधेयकसमेत प्रक्रियामा रहेका छन।
समितिबाट तयार गरिएका प्रदेश प्रहरीसम्बन्धी सम्पूर्ण कागजात तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी संघीय गृहमन्त्री सुदन गुरूङलाई हस्तान्तरण गरिएको बताइएको छ।
मन्त्री फकिरा महतोको नेतृत्व र पहलमा प्रदेश प्रहरी गठनसम्बन्धी कानुनी तयारी अगाडि बढेसँगै मधेश प्रदेशमा प्रहरी प्रशासनको अधिकार, जिम्मेवारी तथा संघ–प्रदेशबीचको समन्वय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले संघीय कानुनसँग आवश्यक समन्वय गर्दै प्रदेश प्रहरी सञ्चालनको आधार तयार गरिरहेको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः