वीरगंजमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन २७ –

अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा वीरगंज विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको थियो। ‘लागूपदार्थलाई नकारौं, आफ्ना सपनालाई साकार पारौं’ नारासहित वीरगञ्जमा युवा र्‍यालीसमेत निकालिएको थियो।

एनवाईईएफ वीरगंजका च्याप्टर र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा निकालिएको र्‍यालीमा युवाहरूले जनचेतनामूलक प्लेकार्ड बोकेका थिए। र्‍यालीपछि आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले युवा नेतृत्व विकास, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनका विषयमा धारणा राखेका थिए।

वक्ताहरूले युवालाई सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउन शिक्षा, सीप, उद्यमशीलता र सिर्जनात्मक गतिविधिमा जोड दिनुपर्ने बताएका थिए। कार्यक्रममा अन्तर्क्रियात्मक सत्र तथा सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ समेत आयोजना गरिएको थियो।
सामग्री सिर्जनाकर्ता प्रतियोगितामा पाँच जना सहभागीमध्ये कन्हैया सर्राफ प्रथम भएका थिए। विजेता सर्राफलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी पर्साले वीरगञ्जस्थित रक्त सञ्चार केन्द्र परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो। नेरेसो पर्साको भवन तथा रक्त सञ्चार केन्द्र परिसर सरसफाइ गर्नुका साथै रक्तदान कार्यक्रम गरिएको पर्सा सभापति बृजकिशोर पटेलले जानकारी दिए।

रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए।

यस्तै, अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्जसहित विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेज तथा उमेर समूहका धावक सहभागी भएका थिए। वीरगंजको घण्टाघरबाट सुरु भएको म्याराथन रेलवे सडक हुँदै अमरचोक पुगेर पुनः घण्टाघरमै आएर सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले म्याराथनजस्ता कार्यक्रमले युवालाई खेलकुद तथा सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणमा योगदान पुर्‍याउने बताए। उनले युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण तथा सामाजिक सेवामा उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रतियोगिताको पुरुषतर्फ डेसिमल कलेजका इमाम हुसेन प्रथम, बीपीएस कलेजका विक्कीकुमार यादव द्वितीय र अर्जुनकुमार तृतीय भएका थिए।

महिलातर्फ बीपीएस कलेजकी उमाकुमारी शर्मा प्रथम, हरि खेतान बहुमुखी क्याम्पसकी पुष्पाकुमारी गुप्ता द्वितीय र आशाकुमारी साह तृतीय भएका थिए। विजेता खेलाडीलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

सम्बन्धित पोस्टहरुः