बकैया खोलाबाट अवैध उत्खनन गर्न पुगेको ट्याक्टर पक्राउ

1200x150_1200x150-01.jpg (1)


बारा , साउन २८

बाराको निजगढ नगरपालिका–४ कछडियाबस्ती नजिकैको बकैया खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्न गएको एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार साँझ बालुवा, ग्राभेललगायत नदीजन्य पदार्थ लोड गर्न खोलामा पुगेका आधा दर्जन ट्याक्टरमध्ये ना.५ त ९८७६ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्याक्टरहरू खोलामा पुगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुगेपछि अन्य ट्याक्टरहरू भने भागेका थिए।

वर्षायामलाई मध्यनजर गर्दै स्थानीय तहले साउन, भदौ र असोज गरी तीन महिनासम्म खोलाको ठेक्का नलगाएको अवस्थामा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपसार तथा बिक्री वितरणमा रोक लगाइएको छ।

रोक लगाइएको समयमा समेत बकैया खोलाबाट ढुङ्गा, ग्राभेल र बालुवालगायत नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार हुने क्रम बढेपछि प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको जनाएको छ।
नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

तस्बिर // प्रतीक दैनिक

सम्बन्धित पोस्टहरुः