२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई भेट्न भन्दै गएका उनका वकिलहरूलाई समेत प्रहरीले भेट्न दिन अस्वीकार गरेको छ ।
अधिवक्ता टिकाराम भट्टराई लगायतका वकिलहरू पत्रकार श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए । तर उनीहरूलाई प्रहरीले भेट्न नमिल्ने भन्दै फर्काइदिएको हो ।
प्रहरीले पत्रकार श्रेष्ठकी श्रीमती र पत्रकार निकट संघसंगठनका प्रतिनिधिहरूलाई पनि भेट्न दिएको छैन ।
आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल लगायत किशोर श्रेष्ठलाई भेट्न गएका थिए । तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए ।
‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई भेट्न दिएन,’ महासचिव घर्तीले भने, ‘प्रेस स्वतन्त्रताको सम्मान गर्न र मानवअधिकारको ख्याल गर्न हामीले भनिरहेका छौं ।’
उनका अनुसार प्रहरीले पत्रकार श्रेष्ठको निवासबाट उनको परिवारका सदस्यहरूको ल्यापटप समेत नियन्त्रणमा लिएको छ ।
‘कमसेकम पढ्ने–लेख्ने प्रयोजनका ल्यापटप त फिर्ता देऊ भन्नका लागि पनि हामी प्रहरीकहाँ पुगेका थियौं, तर त्यो कुरा प्रहरीले मानिरहेको छैन,’ महासचिव घर्तीले भने ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।
आज जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् ।
उनीहरूले श्रेष्ठलाई बिनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् । महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना समेत दिएको छ ।






