वीरगंज , साउन ३० –
पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तको विशेष पहलमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग पर्साको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनका विषयमा छलफल भएको छ।
छलफलका क्रममा पर्सा राष्ट्रिय निकुञ्ज र वीरगंज उद्योग वाणिज्य संघमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी पर्सा तथा वीरगंजको पर्यटकीय सम्भावना, पूर्वाधार विकास र निजी क्षेत्रको सहभागिताका विषयमा छलफल गरिएको जनाइएको छ।
प्राप्त कार्यतालिकाअनुसार भ्रमण टोलीले पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ, गढीमाईलगायतका क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत राखिएको छ। वीरगंजमा उद्योग वाणिज्य संघसँग अन्तरक्रियापछि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
कार्यतालिकामा चपुर रौतहटमा पार्टीको कार्यक्रम तथा लालबन्दीमा खानापछि सलहेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन भ्रमण गर्ने उल्लेख छ। साथै लहानस्थित प्रस्तावित नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (NATHM) को जग्गा तथा कार्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
छलफलमा पर्यटन विकासका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र साझा पहल आवश्यक रहेकोमा जोड दिइएको छ।






