भारतको ८०औं स्वतन्त्रता दिवसको अवसरमा वीरगंजमा कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३० साउन । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले शनिवार भारतको ८०औं स्वतन्त्रता दिवस दूतावास परिसरमा विशेष समारोह आयोजना गरी मनाएको छ। भारतीय महावाणिज्यदूत डी. एस. मीनाले दूतावास परिसरमा राष्ट्रिय झण्डा फहराउँदै समारोहको शुभारम्भ गरे । झण्डोत्तोलनपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रका नाममा दिनुभएको सन्देश पढेर सुनाए ।

राष्ट्रपति मुर्मूको सन्देशमा भारतले पछिल्लो समय विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै अघि बढिरहेको उल्लेख गरिएको थियो। खेलकुद क्षेत्रमा समेत भारतले महŒवपूर्ण उपलब्धि हासिल गरेको जनाउँदै हालै सम्पन्न कमनवेल्थ खेलकुदमा भारतले १३ स्वर्ण पदक जित्न सफल भएको र तीमध्ये ८ वटा स्वर्ण पदक महिला खेलाडीले जितेको बताइएको थियो। यसले भारतीय महिलाको खेलकुद क्षेत्रमा बढ्दो सहभागीता र क्षमतालाई थप उजागर गरेको सन्देशमा उल्लेख थियो।

सन्देशमा भारतीय महिलाहरू आर्थिक रूपमा समेत आत्मनिर्भर बन्दै गएको उल्लेख गरिएको थियो। भारतमा १० करोड भन्दा बढी महिला स्वयं सहायता समूहमा आबद्ध रहेको तथा ३ करोड ‘लखपति दीदी’ बनाउने लक्ष्य राखिएकोमा उक्त लक्ष्य हासिल भइसकेको जनाइएको थियो। आर्थिक आत्मनिर्भरतासँगै भारतीय महिलाहरू विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा समेत अघि बढिरहेको राष्ट्रपति मुर्मूको सन्देशमा उल्लेख गरिएको थियो।
त्यस्तै, महिलाको राजनीतिक सहभागीता बढाउने उद्देश्यले सन् २०२३ मा नारी शक्ति वन्दन अधिनियम लागू गरिएको र यसले लोकसभा तथा राज्यका विधानसभामा महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको जनाइएको थियो।

भारतको कुल जनसंख्याको करिब ६५ प्रतिशत हिस्सा ३५ वर्ष भन्दा कम उमेरका युवाको रहेको उल्लेख गर्दै युवालाई भारतको सबै भन्दा महत्वपूर्ण सम्पत्तिका रूपमा चित्रण गरिएको थियो। भारत हरेक क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको तथा विश्वका ठूला राष्ट्रहरूसँग उसको सम्बन्ध र व्यापारिक सहकार्य समेत विस्तार हुँदै गएको सन्देशमा उल्लेख गरिएको थियो।

समारोहमा वीरगंज स्थित विभिन्न विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई भारतीय महावाणिज्यदूत डी. एस. मीनाले सम्मानपत्र प्रदान गरी सम्मानित समेत गरेका थिए ।

समारोहमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख पवनकुमार भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख मोहनबहादुर क्षेत्री, भारतीय महावाणिज्य दूतावासका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत मनीष दासले गरेका थिए ।

सम्बन्धित पोस्टहरुः