वीरगंज, ३१ साउन । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले उपभोक्ता अदालत स्थापनाका लागि मधेस सरकारले सहयोग गर्ने बताएका छन् ।
आइतवार उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना ‘उपभोक्ता अदालत स्थापना तथा सञ्चालन र नसर्ने रोग रोकथाम सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री पटेलले उपभोक्ता अधिकार संरक्षणका लागि वीरगंजमा उपभोक्ता अदालत स्थापना तथा सञ्चालन आवश्यक रहेको बताए । उनले उपभोक्ता अधिकार सुनिश्चित गर्न प्रभावकारी कानुनी तथा नियामक संयन्त्र आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारका तर्पmबाट उपभोक्ता अदालत स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री पटेलले उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धीत निकायबीच समन्वय र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले प्रत्येक प्रदेशमा उपभोक्ता अदालत गठन गर्नुपर्ने माग गरेका थिए । उपभोक्ता हकहितसँग सम्बन्धीत विवादलाई छिटो, सहज र प्रभावकारी रूपमा समाधान गर्न छुट्टै अदालत आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
वीरगंज आर्थिक तथा व्यापारिक गतिविधिको प्रमुख केन्द्र भएकाले यहाँ उपभोग्य वस्तु तथा सेवाको कारोवार ठूलो रहेको र उपभोक्ताको संख्या तथा मागसमेत उच्च रहेकाले उपभोक्ता अदालतको आवश्यकता अझ बढी रहेको सहभागीहरूले बताए । बजारमा बढ्दो वस्तु तथा सेवाको विविधतासँगै उपभोक्ता ठगी, गुणस्तरहीन वस्तु तथा सेवा, मूल्यमा हुने अनियमितता र अधिकार उल्लङघन नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
पर्सा जिल्ला अदालतका न्यायाधीश महेन्द्र पोखरेलले उपभोक्ता अधिकार संरक्षणका लागि विद्यमान कानुनी व्यवस्था, न्यायिक प्रक्रियाको प्रभावकारिता तथा उपभोक्ता विवाद समाधानलाई सहज बनाउने धारणा राखे ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति वानियाँले उपभोक्ता अधिकार संरक्षणका लागि राज्यका सबै तहका सरकार, न्यायिक निकाय, व्यवसायी, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
उपभोक्ता अदालत गठन भएपछि उपभोक्ताले आफ्ना गुनासा तथा अधिकार उल्लङघनका विषयमा छिटो न्याय पाउने वातावरण बन्ने उनको भनाइ थियो । उनले हाल काठमाडौं, ललितपुर र भक्तपुरमा उपभोक्ता अदालत गठन भई सेवा प्रवाह भइरहेको जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईं, अधिवक्ता शिव कोइराला, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलगायतले उपभोक्ता अधिकार, बजार अनुगमन, गुणस्तरीय वस्तु तथा सेवा, उपभोक्ता सचेतना र नसर्ने रोग रोकथामका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार विजय भण्डारी, निरज पिठाकोठे, अजित भुजेल र अजय अधिकारीलाई सम्मानित पनि गरिएको थियो । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले गरेका थिए ।






