वीरगंज, भदौ १ —
वीरगंजबाट प्रकाशित हुँदै आएको प्रतीक दैनिकले आफ्नो ४०औँ वार्षिकोत्सव विभिन्न पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरी मनाएको छ।
प्रतीक प्रकाशनकी निर्देशक बिन्दु शर्माको अध्यक्षता तथा मधेस प्रदेशका कृषि, भूमि तथा सहकारीमन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा वीरगंज महानगरपालिका–१५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सुबोध स्मृति पत्रकारिता पुरस्कार सर्वराष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक महेशचन्द्र गौतमलाई प्रदान गरिएको छ। यस्तै, स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार युवा पत्रकार अर्जुन चौधरीलाई प्रदान गरिएको छ।
यसैगरी, प्रतीक दैनिकका स्तम्भकार राजेन्द्र कोइराला, संवाददाता चिरञ्जीवी सापकोटा तथा प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई पनि नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित व्यक्तिहरूलाई मन्त्री पटेलले सम्मानपत्र तथा नगद प्रदान गरेका थिए भने प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले टीका र गम्छासहित सम्मान गरेका थिए।
कार्यक्रममा प्रधान सम्पादक शर्माले पत्रकारिताका चुनौती र समस्यासँगै सूचनाको प्रवाह तीव्र हुँदै गएको बताउँदै पत्रकारिता क्षेत्रभित्रका विसङ्गति हटाएर यसलाई थप व्यवस्थित र मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रमुख अतिथि मन्त्री पटेलले प्रतीक दैनिकलाई वीरगंजको पत्रकारिताको इतिहाससँग जोडिएको सञ्चारमाध्यमका रूपमा उल्लेख गर्दै पत्रकारिता क्षेत्रलाई सम्मानित र बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका सभापति ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, उद्योगपति एवं साहित्यकार गणेश लाठलगायत पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार धर्मेन्द्र चौरसियाले गरेका थिए।







