वीरगंज , भादौ १ —
विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०२६–२७ को सिजन व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने बताएका छन्।
साउदी क्लब अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले ‘भोग’ म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य, परिवार र सन्न्यासबारे खुलेर कुरा गरेका हुन्।
हालै पोर्चुगलको कास्काइसमा जर्जिना रोड्रिगेजसँग विवाह गरेका रोनाल्डोले फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने र उत्कृष्ट विरासत छाड्न चाहेको बताएका छन्। उनले निश्चित मिति नतोके पनि यस सिजनपछि मैदानबाट बिदा लिने संकेत गरेका छन्।
रोनाल्डो र रोड्रिगेजले पहिलो भेट भएको १० वर्षपछि यही अगस्ट ११ मा निजी समारोहबीच विवाह गरेका थिए।
स्पोर्टिङ सीपीबाट व्यावसायिक फुटबल सुरु गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स हुँदै अल–नासरसम्मको करिब २५ वर्षको यात्रा तय गरेका छन्। उनले सन्न्यासपछिको जीवनका लागि समेत योजना बनाइसकेको बताएका छन्।







