वीरगंज , भदौ २ —
सर्पले टोकेर गम्भीर अवस्थामा पुगेका चार जनाको वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
अस्पतालका मेडिकल अफिसर डा. दीपक चौरसियाका अनुसार उपचाररतमा पर्साको कालिकामाई गाउँपालिका–२ का २७ वर्षीया रिमा चौरसिया र २० वर्षीया प्रिन्स चौरसिया, बहुदरमाई नगरपालिका–८ रामनगरीकी ८ वर्षीया मनिषा पटेल र बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ की करिब ५० वर्षीया रामपती देवी रहेका छन्।
सर्पदंशबाट सिकिस्त भएका बिरामीको उपचारमा डा. चौरसियासहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ। उनीहरूको अवस्था गम्भीर रहेकाले आकस्मिक कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ।
लामो समयको गर्मीपछि वर्षा भएपछि सर्पहरू जमिनमुनिबाट बाहिर निस्कने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन डा. चौरसियाले आग्रह गरेका छन्। उनले घर वरपरको झाडी तथा फोहोर सफा राख्न र राति हिँडडुल गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।







