हराएकी ३ वर्षीया बालिका मृत फेला

1200x150_1200x150-01.jpg (1)

बारा,२ भदाैं: जीतपुरसिमरा उपमहानगरपालिका -१ सिमराबाट तीन दिनदेखि हराएकी एक बालिका मृत फेला परेकी छन् । गत आइतबार बिहानदेखि आफ्नै घरबाट बेपत्ता भएकी मनाेज चाैधरीकी छाेरी ३ वर्षीया गरिमा चौधरी मंगलबार बेलुकी छिमेककै भक्तिटाेलकाे एक घरमा मृत फेला परेकी हुन् ।

मंगलबार बेलुकी घरभन्दा करिब १५० मिटर पर रहेकाे एक सुनसान घरभित्र गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिका मृत फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो । उक्त खाली रहेको घरमा बालिकाको शव नग्न अवस्थामा फेला परेको हुँदा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । शव भेटिएको घरभित्र बालिकाको भित्रीसहित अन्य लुगा समेत फेला परेको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप क्षेत्रीले बालिकाको लुगा त्यही फेला परेको र शव नग्न अवस्थामा भेटिएकाले बलत्कारपछि हत्या भएको आंशका रहेको बताए। ‘बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका गर्न सकिन्छ’ डिएसपी क्षेत्रीले भने ‘शल्यपरीक्षण रिपोर्टले थप पुष्टि गर्नेछ।’

ढोकामा ताला समेत नलगाइएको उक्त घरबाट गन्ध आएपछि स्थानीयले झ्यालबाट हेरेको र बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। बालिकाको शव सुन्निएको अवस्था भेटिएको छ भने योनीमा समेत चोट देखिएको छ। शवको प्रकृति हेर्दा घटनास्थलमै बालिकाको बलत्कारपछि हत्या भएको पुष्टि हुने आधार भएपनि शल्यपरिक्षण रिपोर्ट पर्खनुपर्ने प्रहरीको भनाइ छ।

सम्बन्धित पोस्टहरुः