वीरगंज , भदौ ३ —
बारा प्रहरीले ३ वर्षीया गरिमा चौधरीको हत्या घटनामा पक्राउ परेका आरोपितलाई सार्वजनिक गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा चौधरीको शव भदौ २ गते भक्तिनगरस्थित एक घरको खाली कोठामा फेला परेको थियो। प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा
जितपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र घटनामा प्रयोग भएको भनिएको म्याजिकका धनी जितपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई घटना भएको स्थानमा लगेको र त्यहाँ जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ।
बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको खोजीका क्रममा भदौ २ गते शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





