वीरगंज , भदौ ४ —
पर्साको बहुदरमाई नगरपालिका–२ की अति विपन्न दलित महिला गीता देवी पासवान उपचार खर्च तिर्न नसक्दा पाँच दिनदेखि अस्पतालमै रोकिएको परिवारले जनाएको छ।
छातीमा समस्या देखिएपछि नेपाल इन्डो हस्पिटल एन्ड आई सेन्टर प्रालिमा भर्ना भएकी पासवानको उपचारपछि अस्पतालले डिस्चार्ज गरे पनि करिब ४५ हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा घर फर्किन नसकेको परिवारको भनाइ छ।
अस्पताल प्रशासनले रकम भुक्तानी नभएसम्म आफूले केही गर्न नसक्ने बताएको पीडित पक्षको दाबी छ। पासवानले उपचार खर्च तिर्न नसक्दा आफू समस्यामा परेको भन्दै सहयोगका लागि सम्बन्धित निकाय तथा सहयोगी मनहरूसँग आग्रह गरेकी छन्।






