वीरगंज , भदौ ४ —
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सुमन्नत अधिकारीको नाम गाँजाका कारोबारीसँगको कथित लेनदेनमा जोडिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आन्तरिक अनुसन्धान थालेको बताइएको छ।
गाँजासम्बन्धी विभिन्न घटनामा प्रहरी निरीक्षक अधिकारीको भूमिका शंकास्पद रहेको भन्दै गुनासो तथा सूचना आउन थालेपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे चासो देखाएको स्रोतको दाबी छ। पर्साका नवनियुक्त प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले मंगलबार पटेर्वा सुगौली क्षेत्रको भ्रमण तथा स्थलगत अवलोकनसमेत गरेको बताइएको छ।
यसैबीच पटेर्वा सुगौलीमा कार्यरत प्रहरी सहायक हवल्दार श्रीलाल मण्डल र प्रहरी जवान अनिल साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाएर सोधपुछ भइरहेको स्रोतले जनाएको छ। उनीहरूलाई किन झिकाइएको हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय पर्साले औपचारिक रूपमा स्पष्ट पारेको छैन।
पर्साको ग्रामीण तथा सीमावर्ती क्षेत्रमा मकवानपुरका पहाडी भेगबाट गाँजा र चरेस भित्र्याउने गरिएको सुरक्षा स्रोतको भनाइ छ।
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै सोनवर्षा, पटेर्वा सुगौली, मुडली, तिनडोबिया, देवरिया, सुवर्णपुर, विजयवस्ती र ठोरी आसपासका क्षेत्रमा गाँजा तथा चरेस भण्डारण गरी रातिको समयमा विभिन्न सवारीसाधनमार्फत भारततर्फ तस्करी हुने गरेको बताइन्छ।
प्रहरी निरीक्षक अधिकारीमाथि लागेको लेनदेन तथा संरक्षणको आरोपबारे अनुसन्धानबाट वास्तविकता स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय पर्साको भनाइ छ। आरोप पुष्टि भइसकेको अवस्था नरहेकाले अनुसन्धानको निष्कर्षपछि मात्रै घटनाबारे थप विवरण खुल्नेछ।







