वीरगंज, भदौ ५ –
बाराको सिमरामा भएको तीन वर्षीया बालिकाको मृत्यु घटनामा न्यायको माग गर्दै शुक्रबार बिहान वीरगंजमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
बिहान करिब साढे ७ बजे विभिन्न विद्यालयका विद्यार्थीहरूले जुलुस निकाल्दै गरिमाको मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गरिमालाई न्याय देऊ’, ‘उचित छानबिन गरी दोषीलाई कडा कारबाही गर’ लगायतका नारा लगाएका थिए।
जुलुसमा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्।
गरिमा चौधरीको मृत्यु घटनालाई लिएर यसअघि पनि स्थानीयवासी तथा विभिन्न पक्षले विरोध प्रदर्शन गर्दै आएका छन्। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शनहरू जारी रहेका छन्।







