पर्सा , भदौ ५ –
भारत–नेपाल सीमावर्ती क्षेत्रको बलथर प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै तीन जना तस्करलाई पक्राउ गरेको छ।
बलथर प्रहरीले दुई वटा छुट्टाछुट्टै सवारीसाधनबाट १६२ किलो गाँजा बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा भंगहा थाना क्षेत्रअन्तर्गत पीपरपातीका २८ वर्षीय सब्जात मियाँ, नगरदेहीका ४० वर्षीय रेदील आलम र नगरदेहीकै ३५ वर्षीय सुग्रीव प्रसाद रहेका छन्।
प्रहरीका अनुसार बरामद गाँजाको अन्तर्राष्ट्रिय बजार मूल्य करिब एक करोड भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ।
बलथर थाना अध्यक्ष ओपी गुप्ताका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो। सोही क्रममा दुई वटा सवारीसाधन जाँच गर्दा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने तयारी गरिएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ। ठूलो परिमाणमा गाँजा बरामदसहित तीन जना पक्राउ पर्नुलाई बलथर प्रहरीले लागुऔषध तस्करीविरुद्ध गरेको महत्वपूर्ण कारबाहीका रूपमा लिइएको छ।







