कैलाली , भदौ ६ –
कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
विद्यालयमा तोकिएबमोजिमको थप सेवा–सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो।
अख्तियारका अनुसार बमलाई भदौ ४ गते धनगढी उपमहानगरपालिका–१ क्षेत्रबाट घुसबापत लिएको दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका बमविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानका लागि भदौ ५ गते विशेष अदालतबाट म्याद थप गरिएको आयोगले जानकारी दिएको छ।






