पर्सा , भदौ ६ –
प्रहरीले नागढुंगा चेक प्वाइन्टबाट भन्सार छली गरी ल्याइएको करिब ५३ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ। सामान ओसारपसारमा संलग्न रहेको आरोपमा बस चालकलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार भदौ ४ गते चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा खटिएको टोलीले दिल्लीबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ३५३६ नम्बरको बस जाँच गर्दा पछाडिको भित्री भागमा गोप्य स्थान बनाएर लुकाइएका बिल तथा बीजक नभएका सामान फेला पारेको हो।
बरामद सामानमा विभिन्न ब्रान्डका २७१ थान मोबाइल, ६ थान ल्यापटप, ५ थान चार्जर, ५१३ थान टेम्पर ग्लास र एक बट्टा प्रोटिन रहेका छन्। मोबाइलमा आइफोन, सामसुङ, भिभो, मोटोरोलो, रेडमी, वनप्लस, ओप्पो, पोको, इन्फिनिक्स, टेक्नो र नोकियालगायतका ब्रान्ड रहेका छन्।
त्यस्तै, १७ थान साडी, २१ थान जिन्स पाइन्ट, ३७ थान कुर्ता सुरुवाल र १५ जोर जुत्तासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सबै सामानको प्रारम्भिक मूल्य करिब ५३ लाख रुपैयाँ रहेको छ।
घटनामा उदयपुरको कटारी नगरपालिका–११ का ३४ वर्षीय बस चालक पविन्दर राना मगरलाई नियन्त्रणमा लिइएको छ। चालक र बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित भन्सार कार्यालयबाट अघि बढ्ने प्रहरीले जानकारी दिएको छ।






