बारा, भदौ ६ –
बाराको सिमरामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्याको विरोधमा सुरु भएको आन्दोलनका कारण वीरगंज–पथलैया सडकखण्ड आज पनि अवरुद्ध रहेको छ।
आन्दोलन सुरु भएदेखि नै वीरगंज–पथलैया सडकखण्डमा सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु तथा चालकले सास्ती खेपिरहेका छन्। सडकमा सवारी आवागमन ठप्प हुँदा यस क्षेत्रको यातायात प्रभावित भएको छ।
तर, पूर्व–पश्चिम राजमार्ग भने खुला रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्। उनका अनुसार पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन् भने वीरगंज–पथलैया सडकखण्डमा भने आवागमन रोकिएको छ।
गरिमा हत्याको घटनालाई लिएर पीडित पक्ष तथा स्थानीयवासीले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन्। आन्दोलनका कारण वीरगंज–पथलैया औद्योगिक करिडोरको यातायातसमेत प्रभावित भएको छ।
यसैबीच, मृतक बालिकाका आमा–बुबा अहिले काठमाडौंमा रहेका छन्। उनीहरूले गृहमन्त्री सुधन गुरुङसँग घटनाबारे वार्ता गरिरहेको जनाइएको छ। वार्ताबाट पीडित पक्षका माग सम्बोधन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।






