जनकपुर। सप्तरीमा घरबाट हराएको करिब दुई घण्टामै दुई वर्षीया नाबालिका मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।
शम्भुनाथ नगरपालिका–३ का मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्।
नाबालिका हराएको जानकारी पाएलगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए।
खोजतलासका क्रममा उनी आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्काका अनुसार नाबालिका हराएको सूचना प्राप्त भएको केही घण्टामै उनको शव फेला परेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको हुनसक्ने देखाएको एसपी खड्काले बताए।
घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्तिको विवरण भने प्रहरीले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै तत्काल सार्वजनिक गरेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।






