म्याके , भदौ ७ —
बङ्गलादेशसँगको दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली अस्ट्रेलिया एक पारी र ५१ रनले विजयी भएको छ। म्याकेमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो।
अस्ट्रेलियाले पहिलो पारीमा २१० रन बनाएपछि बङ्गलादेश पहिलो पारीमा ६४ रनमै अलआउट भएको थियो। बङ्गलादेशका लागि शोरिफुल इस्लामले १४ रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिए।
दोस्रो पारीमा पनि बङ्गलादेश ९५ रनमै अलआउट भयो। कप्तान नजमुल होसैन शान्तोले ३१ र मुशफिकर रहिमले अविजित २९ रन बनाए। स्टार्कले दोस्रो पारीमा चार विकेट लिए।
अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले पहिलो पारीमा ६७ तथा स्टेभेन स्मिथले ४२ रन बनाए। बङ्गलादेशका शोरिफुल इस्लामले सात विकेट लिए।
यो जितसँगै दुई खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा सकिएको छ। पहिलो टेस्ट बङ्गलादेशले नौ विकेटले जितेको थियो।
७५० बलमै सकिएको यो टेस्ट सर्वकालीन चौथो छोटो तथा अस्ट्रेलियामा भएको दोस्रो छोटो टेस्ट बनेको छ। बङ्गलादेश दुवै पारीमा १०० रनभन्दा कममा अलआउट हुने समग्रमा नवौँ तथा २१ वर्षयताकै पहिलो टोली बनेको छ।






