भैँसी र जग्गा बेचेर पढेका धिराजन बने प्रहरी निरीक्षक

1200x150_1200x150-01.jpg (1)

बर्दिया , भदौ ९ —

आर्थिक अभावका कारण पढाइ खर्च जुटाउन परिवारले पालेको भैँसी र भएको थोरै जग्गासमेत बेच्नुपरेका बर्दियाका २४ वर्षीय धिराजन परियार अहिले नेपाल प्रहरीको प्रहरी निरीक्षकमा चौथो नम्बरमा सिफारिस भएका छन्।

बाँसगढी नगरपालिका–३ महादेवाका परियार अतिविपन्न परिवारमा हुर्किएका हुन्। बीएससी फरेस्ट्री अध्ययनका क्रममा परिवारले जग्गा र भैँसी बेचेर उनको पढाइ खर्च जुटाएको थियो। पढाइपछि प्रहरी निरीक्षक बन्ने लक्ष्य लिएका उनले आर्थिक अभावकै कारण काठमाडौं गएर तयारी गर्न सकेनन्। कोहलपुरमा बसेर अनलाइन कक्षा लिँदै लोकसेवाको तयारी गरे।

लोकसेवा तयारीका पुस्तक किन्नसमेत समस्या भएपछि साथी निश्चल कुश्वाहा महतोले आवश्यक पुस्तक किनिदिएको धिराजन सम्झन्छन्। करिब डेढ वर्षको तयारीपछि उनले नेपाल प्रहरीको प्रहरी निरीक्षकसहित विभिन्न सुरक्षा निकायका अधिकृत पदमा सफलता हात पारे।

आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत पदमा उनी सफल भए। यसअघि नेपाली सेनाको क्याडेटतर्फको परीक्षासमेत उत्तीर्ण गरेका थिए।

धिराजनको शैक्षिक यात्रा भने सहज थिएन। एसईईमा सामाजिक विषयमा पूरक परीक्षा दिएका उनले २.५ जीपीए ल्याएका थिए। कक्षा ११ मा तीन विषयमा ब्याक लागे पनि उनले हार मानेनन्। कक्षा १२ मा २.३९ जीपीए ल्याएर उत्तीर्ण भए। पछि पोखरा क्याम्पसमा पूर्ण छात्रवृत्तिमा बीएससी फरेस्ट्री अध्ययन गरी प्रथम श्रेणीमा उत्तीर्ण गरे।

सामान्य किसान परिवारबाट आएका धिराजनले आफूले भोगेको संघर्षलाई सफलताको आधार मानेका छन्। उनी भविष्यमा नेपाल प्रहरीको नेतृत्व तहमा पुग्ने लक्ष्य राख्छन्। नेपालमा दलित समुदायबाट प्रहरी महानिरीक्षक बन्ने लक्ष्य रहेको उनको भनाइ छ।

‘लक्ष्य बनाएर निरन्तर मेहनत गरे पूरा गर्न सकिन्छ,’ धिराजन भन्छन्, ‘मेरो यात्रामा साथ दिने परिवार, साथी र सहयोगीलाई म सधैँ सम्मान गर्नेछु।’

सम्बन्धित पोस्टहरुः