पर्सा, भदौ ९ — पर्साका १४ वटै स्थानीय तहमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन, खाता सञ्चालन तथा आर्थिक कारोबार सुरु गर्ने विषयमा अन्योल देखिएको छ।
जनप्रतिनिधिबीचको आन्तरिक विवाद र कर्मचारीस्तरबाट भइरहेको भनिएको ढिलाइका कारण केही पालिकाको बजेट प्रक्रिया प्रभावित भएको आरोप छ। छिपहरमाई र पकाहामैनपुर गाउँपालिकामा आन्तरिक विवादका कारण बजेट प्रक्रिया प्रभावित भएको बताइएको छ।
स्थानीय तहले असार १० गतेभित्र बजेट सभामा पेश गरी असार मसान्तभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही पालिकामा निर्धारित प्रक्रियाअनुसार काम अघि बढ्न नसकेको जनाइएको छ।
यसैबीच, निर्वाचन आचारसंहिता लागू हुनुअघि आर्थिक कारोबार आफ्नो अनुकूल सञ्चालन गर्ने उद्देश्यले कर्मचारीस्तरबाट खाता सञ्चालनमा ढिलाइ भइरहेको हुन सक्ने आशङ्कासमेत गरिएको छ। तर ढिलाइको वास्तविक कारण जनप्रतिनिधिबीचको विवाद हो वा प्रशासनिक समस्या भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिएको छैन।
बजेट तथा खाता सञ्चालनमा ढिलाइ हुँदा विकास निर्माण, कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा र दैनिक सेवा प्रवाह प्रभावित हुन सक्ने भएकाले तत्काल वास्तविक अवस्था सार्वजनिक गर्न स्थानीयले माग गरेका छन्। साथै कुन पालिकाको बजेट कहिले पारित भयो र बैंक खाता कहिले सञ्चालनमा आयो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।






