पर्सा , भदौ १० —
इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) को १५०१औँ जन्मजयन्ती अर्थात् मिलादुन्नबी आज नेपालभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई अल्लाहका अन्तिम सन्देष्टा (रसुल) का रूपमा श्रद्धापूर्वक मान्दै आएका छन्। जन्मजयन्तीका अवसरमा काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदसहित देशभरका मस्जिद तथा मदरसामा विशेष नमाज, कुरान पाठ, धार्मिक प्रवचन तथा प्रार्थनाका कार्यक्रम आयोजना भइरहेका छन्।
मिलादुन्नबीका अवसरमा मुस्लिम समुदायले पैगम्बर मोहम्मदले मानव समाजका लागि दिएको दया, करुणा, सत्य, सद्भाव र विश्व भाइचाराको सन्देश स्मरण गर्दै विभिन्न स्थानमा र्याली तथा विचार गोष्ठीसमेत आयोजना गरेका छन्। सहभागीहरूले शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न उहाँका शिक्षाको महत्व रहेको बताएका छन्।
ऐतिहासिक तथा धार्मिक मान्यताअनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको पवित्र सहर मक्कामा भएको थियो। पछि उहाँ मदिना प्रस्थान गर्नुभएको थियो। उहाँको जीवन, शिक्षा र सन्देशसँगै इस्लाम धर्मको विस्तार भएको मुस्लिम समुदायको विश्वास छ। इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान पनि उहाँमाथि अवतरित भएको धार्मिक मान्यता छ।
मक्का र मदिना इस्लाम धर्मावलम्बीका प्रमुख पवित्र तीर्थस्थल मानिन्छन्। विश्वभरका मुस्लिम धर्मावलम्बीले आफ्नो जीवनमा कम्तीमा एकपटक मक्का पुगेर हज गर्ने धार्मिक आकांक्षा राख्छन्।
नेपालका विभिन्न स्थानमा पनि मिलादुन्नबीका अवसरमा धार्मिक कार्यक्रमसँगै शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्ने गतिविधि आयोजना भइरहेका छन्।






