राधेश्याम पटेल, वीरगंज,१० भदौ /
वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा सुविधासम्पन्न दुई तले १४ कोठे नयाँ भवन निर्माण हुने भएको छ। भवनको आज बिहान शिलान्यास गरिएको छ।
विद्यालय परिसरमा आयोजित समारोहबीच नेकपा एमालेका नेता तथा पूर्वसांसद प्रभु हजराले भवनको शिलान्यास गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल मेडिकल कलेज वीरगंजका निर्देशक डा. जैनुद्दिन अंसारीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार जगदिशप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतो, पत्रकार शंकर आचार्य,शंकर पटेल,वीरगंज महानगरपालिका–११ का वडा अध्यक्ष अजयप्रसाद चौरसिया, पूर्व वडा अध्यक्ष प्रधुम्न सेढाईं, शिक्षाप्रेमी हरि कुर्मीलगायत स्थानीय अगुवा तथा शिक्षक–शिक्षिकाको उपस्थिति थियो।
केन्द्र सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगंजमार्फत १ करोड ८६ लाख ८ हजार रुपैयाँको कुल लागतमा भवन निर्माण हुन लागेको हो।
भवन निर्माणको ठेक्का ‘पिपी अंकित जेभी, विन्दवासिनी–५, पर्साले पाएको छ। विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहका अनुसार निर्माण कार्य आगामी असार ३२ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।
विद्यालय परिसरमा दक्षिणतर्फ सडकसँगै रहेको पुरानो तथा जीर्ण भवन भत्काएर त्यसै स्थानमा उत्तर मोहडा भएको दुई तले १४ कोठे नयाँ भवन निर्माण गर्न लागिएको हो।
नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि विद्यार्थीको पठनपाठन थप सहज, व्यवस्थित र प्रभावकारी हुने विद्यालयले अपेक्षा गरेको छ। विद्यालयका अनुसार नयाँ संरचनाले कक्षाकोठाको अभाव कम गर्नुका साथै विद्यार्थीका लागि सुरक्षित र सुविधासम्पन्न शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्नेछ।









