रसुवा , भदौ १०—
रसुवामा आएको भीषण बाढीका कारण नेपाल प्रहरीका तीनवटा प्रहरी चौकी प्रभावित तथा बगेका छन् भने ३५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त पछिल्लो अपडेटअनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी सम्पर्कमा आएका छैनन्। तीमध्ये इलाका प्रहरी कार्यालय टिमुरे बाढीका कारण बगेको प्रहरीले जनाएको छ।
टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना मात्र सम्पर्कमा आएका छन् भने ८ जना सम्पर्कविहीन छन्।
स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ४ जना सम्पर्कमा आएका छन् भने ५ जना अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयको अपडेटमा उल्लेख छ। यसअनुसार तीनवटै स्थानबाट गरी ३५ जना प्रहरी सम्पर्कबाहिर रहेका छन्।
बाढीको प्रभाव नुवाकोट र धादिङसम्म समेत देखिएको छ। नुवाकोटको त्रिशूली बजारमा पानीको बहाव बढेको र नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ। धादिङको पृथ्वीराजमार्गस्थित महेसखोलामा डुबान भएको छ।
बाढी प्रभावित क्षेत्रमा थप उद्धार तथा सुरक्षा जनशक्ति परिचालन गरिएको छ। बागमती प्रदेश प्रहरी गुल्म हेटौंडाबाट एसएसपी पुरुषोत्तम सुवेदीको कमाण्डमा १५ जनाको टोली बुधबार बिहान १०ः५५ बजे रसुवातर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैबीच बाढीको बहाव धादिङको गल्छी गाउँपालिका–२, मलेखु क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ भने सम्पर्कविहीन प्रहरीको अवस्था पत्ता लगाउन सुरक्षा निकायले प्रयास जारी राखेको छ।






