गण्डक नदीमा बाढीको जोखिम बढेपछि बिहारमा हाई अलर्ट

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १० —

नेपालमा आएको अचानक बाढीका कारण गण्डक नदीको जलस्तर तथा बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतको बिहारमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।

नेपालको गण्डक नदीको माथिल्लो जलाधार क्षेत्रमा फ्ल्यास फ्लडको अवस्था सिर्जना भएकाले गण्डक नदीमा अचानक ठूलो जलप्रवाह आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिहार सरकारले विशेष सतर्कता अपनाएको हो।

बिहार सरकारको विपद् व्यवस्थापन विभाग तथा सम्बन्धित जिल्ला प्रशासनले गण्डक नदीसँग जोडिएका विभिन्न जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। गण्डक नदीमा करिब ३ मिटर उचाइको फ्ल्यास फ्लड वेभ आउन सक्ने सम्भावना रहेको भन्दै पश्चिम चम्पारण, बगाहा, पूर्वी चम्पारण, गोपालगञ्जलगायत क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, सर्वसाधारणलाई गण्डक नदीको किनारमा नजान तथा कुनै पनि प्रकारका अफवाहमा विश्वास नगर्न अपिल गरिएको छ।

यसैबीच बिहारका मुख्य सचिव प्रत्यय अमृतको अध्यक्षतामा बाढीको सम्भावित अवस्थाबारे उच्चस्तरीय समीक्षा बैठक बसेको छ। भिडियो कन्फरेन्समार्फत भएको बैठकमा सम्भावित प्रभावित जिल्लाका जिल्ला अधिकारी तथा वरिष्ठ प्रहरी अधिकारी सहभागी भएका थिए।

बैठकमा नेपालमा विकसित बाढीको अवस्था र त्यसबाट बिहारमा पर्न सक्ने सम्भावित प्रभावबारे समीक्षा गरिएको थियो। सम्बन्धित जिल्लालाई उच्च सतर्कतामा रहन तथा उद्धार, राहत र सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी पूर्ण अवस्थामा राख्न निर्देशन दिइएको जनाइएको छ।

नदी तथा बाढीसम्बन्धी विषयमा लामो समयदेखि काम गर्दै आएका इन्जिनियर दिनेश कुमार मिश्रका अनुसार नेपालमा आएको अचानक बाढीका कारण पश्चिम चम्पारण, बगाहा, पूर्वी चम्पारण, गोपालगञ्जलगायत गण्डक नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ।

यद्यपि, बिहार प्रशासनले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी गरिएको भन्दै प्रशासनले स्थानीयवासीलाई आधिकारिक सूचनामात्र विश्वास गर्न र नदीबाट सुरक्षित दूरी कायम राख्न आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः