वीरगंज , भदौ १० —
रसुवालगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला वीरगंजस्थित हेल्थ केयर अस्पतालले विपद्मा परेका घाइतेको उपचारमा सहयोग गर्ने घोषणा गरेको छ।
अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले हवाई उद्धारका क्रममा बाढी तथा पहिरो प्रभावित कुनै घाइते वा बिरामीलाई अस्पतालको हेलिप्याडमा ल्याइएमा त्यस्ता बिरामीको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने घोषणा गरेका हुन्।
विपद्को समयमा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै घाइते तथा बिरामीको तत्काल उपचारमा सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अध्यक्ष अन्सारीले बताए।
“देश अहिले ठूलो दुःख र पीडाको घडीमा छ। बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार र उपचारमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला हो,” अध्यक्ष अन्सारीले भने, “हवाई उद्धारका क्रममा कुनै बिरामीलाई हाम्रो अस्पतालको हेलिप्याडमा ल्याइएमा उहाँको सम्पूर्ण उपचार खर्च हामी व्यहोर्नेछौँ।”
अस्पतालको यो घोषणाले विपद्को समयमा उद्धारसँगै घाइते तथा बिरामीको तत्काल उपचार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रसुवासहित विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो क्षति भएपछि अहिले सरकारी तथा गैरसरकारी निकायबाट खोजी, उद्धार, राहत र उपचारका कार्यलाई तीव्रता दिइएको छ। यही क्रममा निजी क्षेत्रबाट समेत मानवीय सहयोगका घोषणा आउन थालेका छन्।






