पूर्वराजा ज्ञानेन्द्रद्वारा रसुवा बाढीमा उद्धार र राहत तीव्र बनाउन आग्रह

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १० —

पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी, उद्धार, राहत तथा उपचारका कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।

पूर्वराजा शाहले बुधबार देशवासीका नाममा सन्देश जारी गर्दै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको उल्लेख गरेका छन्।

बाढीका कारण सडक, पुलपुलेसा, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै शाहले घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।

उनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक तथा सुरक्षाकर्मीलगायतको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गरेका छन्।

शाहले “खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन” सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्। उनले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट विपद् प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न अपिल गरेका छन्।

विपद्मा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा समेत उनले जोड दिएका छन्।

सीमासँग जोडिएका छिमेकी मुलुकमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने उल्लेख गर्दै पूर्वराजा शाहले यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि छुट्टाछुट्टै प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयास प्रभावकारी हुने धारणा व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा पूर्वराजा शाहले “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्” भन्ने कामना गरेका छन्।

सम्बन्धित पोस्टहरुः